उसको शब्दातीत प्रेम

अमुर्त प्रेम

अमुर्त प्रेम

उ भन्दै थिई “तपाईँको यहि बानि त मलाई मनपर्दैन  नी । कति भन्यो कैल्यै टेर्ने हैन भन्या । ”

उसको आँखामा अलिकति रिस झल्किरहेको थियो ।  रिसाएझैँ देखिन्थी । फकाउँकी भने तर फेरी त्यो रिस अझै हेरिरहन मन लाग्यो ।

“कति पटक भनिसके मैले,  भन्नुत? कति पटक भन्नु, यसरी अरुसँग तपाई खुलेर बोलेको मलाई पटक्कै मनै पर्दैन । तपाई आफ्नो मनमा चैँ कैल्यै केही पनि राख्नुहुन्न । सबै नाङ्गै, सर्वाङ्ग नाङ्गै भएर अरुसँग कुरा गरेको मलाई चित्तै बुझ्दैन ।”

यो वाक्य सकिएपछिको रिस, उसको अनुहारमा हेर्न लायकको थियो । कति मयालु देखिन्थी उ । सँधै यसरी नै यीनै नजरहरुले हेरीरहँु जस्ती । अरुबेला मलाई खासै राम्री नलागे पनि जब उ यसरी रिसाउँथी, असाध्यै राम्री हुन्थी । अनि बेला बेलाको उसको त्यो हासो पनि वर्णन गर्न लायकको हुन्थ्यो । कस्तो अचम्म, रिसाउँदा पनि राम्रै देखिने । उसको त्योे रिस पनि मलाई मायालु लाग्दै थियो । कति प्रेमील थियो उसको त्यो रिस ।

वास्तवमा उ आज किन यसरी मसँग रिसाएकी हो मैले थाहा पाउनै सकेको थिईन । दिउसो भरिनै म उ सँगै थिएँ ।  खै मैले केही गरेजस्तो त लागेको थिएन । अलिकति फ्ल्यासब्याकमा गएँ । सबै कुरा सम्झँदै लगे । उता उ अझै रिसाउँदै मलाई के के भन्दै थिई  ।  म भने के उ कारणले रिसाई भन्नेकुरा पत्ता लगाउन थालेँ ।

निकैबेर दिमागलाई प्रेसर दिए पछि झसँङ्ग याद आयो । दिउँसो बाटामा भेटिएकी पुरानो साथी सम्झनाको । अहो । अनि सम्झेँ त्यतिबेला गरेका गफहरु । थुईक्क म पनि, आफ्नै प्रेमिकाको अगाढी अर्की केटिसँग त्यति मजाले हासीँ हासीँ सबै कुरा गरेको पो रहेँछु । मेरो यो आफ्नै बानी देखेर मलाई आफैँसग  रिस उठ्यो । म कसै सँग किन बनावटी गफ गर्न जान्दीन? आफैँलाई प्रश्न सोध्न मन लाग्यो । उ अझै पनि रिसाईरहेकी थिई । २ कप चिया रित्याईसक्दा पनि उ रिसाउँदै गुनासो गर्दै थिई ।

अब पालो मेरो थियो उसलाई फकाउनु पर्ने । कहाँबाट सुरु गरौँ कहाँबाट । म अन्योलमा थिएँ । उसका आँखामा एकटक हेरेँ । खेतका गरामा पानि भरिएर टिलपिल टिलपिल भएजस्ता देखिन्थे  । अनुहार हेरेँ । नसा नसामा रगत दौडिरहेको थियो । लाग्थ्यो उसको त्यो रगतका कोष कोषहरुमा मेरा प्रेमका भावहरु दौडिरहेका छन् । कति सभ्य थियो उसको प्रेम, अनि कति सुसँस्कृत थिए उसमा जागृत ती भावनाका लहरहरु ।

विस्तारै मैले उसको आँखामा आँखा जुधाउँदै सोधेँ । “भन त दृष्टि । मैले के त्यस्तो गर्नै नहुने काम गरेँ । आखिर उ मेरो पुरानो साथी त हो नी । बोल्दैमा के नै बिग्रन्छ र ?”

उसले संकालु नजरले मेरा आखाँमा आफ्ना आखाँहरुलाई अड्याई । एकपटक नचिनको मान्छेलाई हेरेझैँ गरेर हेरी अनी विस्तारै पर अनकन्टारबाट आवाज आएझैँ बोली “हैन के, खासमा मलाई तपाई प्रति विश्वास पनि छ । तपाईलाई म आफु भन्दा बढी विश्वास गर्न सक्छु । तर खै किनहो  किन  तपाईँ अरु कुनै केटीसँग पनि नजीकीएको मलाई मनै पर्दैन ।”

मैले फेरी चिया सुरुप्प पारेर टेबलमा गिलास राख्दैँ भने  “दृष्टि यो विश्वास, प्रेम भन्ने कुरा एक शब्द अर्को व्यक्तिसँग राम्रो बोल्दैमा घट्ने पनि हैन । हामीसँग भएको अरुलाई दिनसक्ने कुरा भनेको त्यहि यौटा बोली त होनी । राम्ररी बोलीदियो । मुसुक्क हाँसीदियो । अर्कोव्यक्ति पनि खुसी हुन्छ । बस् । तर तिमीसँगको यो सम्बन्ध, यो विश्वास, यो भावना त्यति कमजोर छैन  कि कुनै अर्कोसँगको बोलीले नै तोडियोस् ।”

“अँ होला , होला । केटा मान्छे को के भर हुन्छ र ?” उसले अलि मुस्कुराएको अनुहार बनाएर फेरी पनी शंकालु भावले म तिर प्रश्न तेस्र्याई । अनी टेबलमा भएको उसको चियाको गिलास टपक्क टिपेर सेलाएको चिया पिउन थाली ।

उसको यो प्रश्नले मलाई निकै भावुक बनायो । साच्चै पुरुषहरु अभरिला नै हुन्छन् त ?  यौटा सामान्य प्रश्न थियो त्यो तर चिन्तनगर्न योग्य । भर, विश्वास, सम्बन्धमा  पुरुषहरु कमजोर हुन्छन् भन्ने अभिव्यक्ति थियो त्यो प्रश्नको । मैले केही जवाफ नै फर्काउन सकिन । आफुले भोगील्याएको जिन्दगीमा यौटा कडा प्रहार भयो ।

अनी फेरी उसका ती गाजलले भरिएका आँखामा आफ्ना नयनहरु जुधाउँदै भने  “दृष्टि, यौटा कुरा भनत आखिर तिमी म कस्तो भए हुन्थ्यो भन्ने चाहन्छ्यौ ?”

उसले मेरो प्रश्न भुईमा झर्न नपाउँदै भनि “मेरो बुबा जस्तो । मेरो बुबाले आमालाई गर्नुभएको जस्तो विश्वास चाहन्छु, प्रेम चाहन्छु । असलमा भन्नुपर्दा म तपाईलाई मेरो बुबा जस्तो हुनुहोस् भन्ने चाहन्छु । र हरेक नारी यहि चाहन्छे कि आफ्नो श्रीमान् आफ्नो बुबाजस्तै होस् । आमा बुबाको प्रेम जस्तो प्रीत बसोस् । अनी जीवन पनि आमा बुबाको जस्तो रसिलो होस् ।”

अब मैले के बोल्ने के नबोल्ने भन्ने छुट्याउनै सकिन । कस्ती केटी होली । आफ्नो प्रेमीलाई आफ्नै बुबा जस्तो होस् भन्ने चाहन्छे । अचम्म लाग्यो । उसले कहिल्यै यसरी कुरा गरेकी थिईन । मलाई लाग्थ्यो आजकालका केटीहरु आफ्नो हुनेवाला श्रीमान् कोही सलमान खान, कोही सारुक खान, कोही  मदन, कोही जुलीयट जस्तो होस् भन्ने चाहन्छन् होला तर, मेरो सोच पूर्ण गलत सावीत भयो । म अज्ञानी प्रमाणीत भईसकेको थिएँ उसको यो अभिव्यक्तिबाट ।

विस्तारै मैले आफ्नै बुबालाई सम्झेँ । आमालाई सम्झेँ । अनी यो प्रेमलाई । आमा बुबाको प्रीत लाई । वहाँहरुको मायाँलाई । आहा, कति सम्मानित प्रेम छ वहाँहरुको । कति स्नेह छ  दुईमा । कति अघाद मायाँ छ, छोरा छोरी प्रति ।

सम्झँदै गएँ । एक एक गरेर पर्दामा फील्म लागेझैँ आफ्नै आँखा अगाढी सबैकुरा देख्दै गएँ । उ मौन थिई । म पनि मौन थिएँ ।

हाम्रो मौनता चिरेर फेरी उसले भनी “थाहा छ, म जतिबेला तपाईलाई भेट्छु । म तपाईको प्रेममा जतिबेला आफुलाई बिर्सिएकी हुन्छु त्यतिबेला मलाई आफ्नै बुबाको स्नेहमा चुर्लुम्म डुबेको महशुस हुन्छ । आफ्नै आमाको काखमा लडिबुडी खेलेको भान हुन्छ । साँच्चै भन्नुपर्दा म तपाईमा आफ्नै परिवारको प्रेम भेट्छु । आफुलाई भरिएकी पाउँछु ।”

मेरो हृदय हिमालमा हिउँ पग्लिएझैँ भयो । भावनामा चुर्लुम्म डुबेँछु । उसका आँखामा एकटक हेरेँ । रसिला भएका थिए । सुनेको थिएँ मानिस भावनामा हुँदा आँखा बग्छन् रे । बगीरहेका थिए उसका गाजलु आँखा ।  अनी मेरो ओठमा नुनीलो स्वाद आउँदा थाहा पाएँ कतिबेला मेरा पनि आँखाहरु बगीसकेछन् ।

झलक्क विजुली बत्ति बल्यो । क्याफेको भाईले बत्ति बाल्यो । अनी पो महशुस भयो । साँझ  परेछ । गीलासको चिया पनि रित्तिसकेको थियो । दिन कतिबेला बित्यो । अनि कतिबेला साँझ पर्यो पत्तै भएन ।

उसले बत्ति बलेको देख्नेबित्तीकै भनि “ओहो , साँझ परिसकेछ । कोठामा गएर कति काम गर्नु छ । कलेजको असाईन्मेन्ट बाँकी नै छ । जौँ है अब  । ”

“हो त नी । कति छिटै रातपरेको । जौँ जौँ । मलाई नी धेरै काम गर्नुछ । ” केही काम नभए पनि बाहाना पार्दै मैले भने ।

म गोजीबाट पर्स निकालेर काउन्टर तिर लागेँ । उ हतारीँदै आई । “हैन, हैन आज म दिन्छु । तपाईलाई मैले बोलाएकी हुँ नी ।” मुसुक्क हाँस्दै भनि ।

“हैन । हैन पर्दैन मै दिन्छु ।” मैले हतार हतारमा पैसा निकालेँ ।

उसले कर्के नजर लगाउँदै म तिर हेरी ।

“किन मैले तिरेको चिया खानु हुँदैन हो ? कुनै केटीले स्वावलम्भी भएर कमाएको पैसाको कुनै मूल्य हुँदैन ?” ठुस्केजस्तो गरेर भनि ।

“हैन क्या । मैले कहाँ त्यस्तो भन्न खोज्या हो र ? ओके । तेसोभए आज तिमी नै तिर न त ।”

उसले पैसा तिरी । अनि चियाको बिल पनि मागी । फेरी म छक्क परेँ ।

किन बील मागेकी होला यो केटीले ?

विस्तारै उसको कानमा खुसुक्क भने “लौ । यो बिल चैँ किन नी ?”

मुसुक्क मुस्कुराई । काउन्टरमा दिएको फिर्ता पैसा  ह्यान्डब्यागमा राख्दै भनी

“कुनै दिन तपाईँसँग भेट नभएको बेलामा तपाईको याद आयो भने यहि बिल हेरेर तपाईँ र म बसेर चिया खाएको स्मरण गर्नेछु । तपाईसँग गफिएका कुराहरु सम्झदैँ खुसी हुनेछु ।”

काउन्टरमा बसेको मान्छे उसका कुरा सुनेर हाँस्यो । म भने भित्र भित्रै उसको कुराले अचम्मीत भएँ ।

विस्तारै दुवैजना क्याफेबाट बाहिर निस्क्यौँ  । उसको कुराले म एकोहोरो जस्तो भएको थिएँ । उ मसँग कुरा गरेर हलुका भएकी थिई । म भने उसका कुराहरुले भारी भएको थिएँ । उ हाँसीरहेकी थिएँ, म यौटा तपस्वी जस्तो   उसका  अनुहार पल्याक पुलुक्क हेर्दै बाटामा हिँडिरहेको थिएँ ।

कतिखेर उसको कोठा आईपुग्यो त्यो पनि थाहा पाईनछु मैले ।

“तपाईँ पनि खाना खाएर जानु है । म बनाउँछु ।” उसले घरको गेट उघार्दै भनी ।

“हैन, हैन । मेरो काम छ । म रुममै गएर खान्छु । ” म झसंग हुँदै बोलेँ ।

ल त तेसोभए “आजलाई । सायोनारा  । हा हा हा ” उसले  हाँस्दै भनि ।

“ल ल बाई । ” म पनि मुस्कुराएँ । अनि उ तिर एक नजर जुधाएर हात हल्लाउँदै आफ्नो कोठा तर्फ पाईलाहरुलाई अगाडी बढाएँ ।

कोठा पुग्न निकै हिँड्नु थियो । गाडीमा खासै समय नलाग्ने भए पनि मलाई हिँडेरै जाने रहर जाग्यो । म हिँडीरहेँ । बाटो उस्तै भिड थियो । मानिसहरुको होहल्ला सँधैको जत्तिकै थियो । तर म उसका अघिका कुराहरुले बचैन बनिरहेको थिएँ । उसको प्रीतको अर्थ बोध गर्न असमर्थ भएको थिएँ ।  यौटा बालकले गणीतको कुनै सुत्र नजान्दा हिसाब नमिलेको जस्तो भइरहेको थियो उसका ति प्रेमशुत्रहरु  ।

Categories: Uncategorized

Shares
Facebook Auto Publish Powered By : XYZScripts.com