एक निमेश

सबै सामान्य थियो । असामान्य जस्तो केहि पनि लागेको थिएन । कुरा २०७२ साल वैशाख १२ गतेको हो, हामि दाजु भाई सधैँको सनिबार झैँ कोठामा खाना पकाएर खाने तरखरमा थियौँ । भाईले खाना खाईसकेको थियो । मेरो अल्छि बानि अलि ढीलो खाँदै थिएँ ।

ल्याप्टपमा स्टिभ जब्सको स्टे हंग्री स्टे फुलीस भन्ने स्ट्यान्डफर्ड युनिभर्सिटिमा दिएको स्पीच हेर्दै खाना खाँदै थिएँ । संयोग नै भन्नुपर्छ त्यतिबेला भिडियोमा स्टिभ जब्स मृत्यूको बारेमा बोलीरहेका थिए । म भिडीयो को गहिराहिमा डुबेको थिएँ । मृत्यूलाई सोच्दैँ थिएँ । स्टिभ जब्स भन्दै थिए म हरेक दिन मेरो अन्तिम दिन हो भने दिनभरीमा कस्तो कर्महरु गर्छु, जुन कर्म एकदमै महत्वपूर्ण हो अथवा मलाई लाग्छ त्यहि कर्महरु गर्छु । हो यसै भन्दै थिए महान् कर्मयोगी स्टिभ जब्स यूट्युबको भिडीयोमा ।

अचानक खाट हल्लिन थाल्यो । भुईचालो भुईचालो । मैले भाईलाई भने । यति भन्दा नभन्दै । कपडा राख्ने आल्ना पनि ढल्यो । घर बाहिर जाऔँ न त भन्दा ३ वटा गेट खोल्नुपर्ने, जाँदा जाँदै विचैमा माथि बाट घरका ईट्टा ढलेर किच्यो भने के गर्ने? भित्र बसौँ भन्दा घरै लड्ला झैँ हल्लिरहेको थियो । जे सुकै होस भनेर कोठाको ढोकाको मुनी उभियौँ ।

साँच्चै भन्नुपर्दा मलाई सानो भुईचालो आउँदा पनि एकदमै डर लाग्ने, तर यसपालिको भुईचालोले मलाई भुईचालो गएको समयमा एक रत्ति पनि डर भने लागेन ।

अचम्म भयो ।

मलाई डर नलागेको किन रैछ भन्ने कुरा पछि मात्रै थाहा भयो । प्रियाङ्का चोपडाको मेरी कोम मुभीमा भनेजस्तै भएको रहेछ । यौटा डायलग

“मुझे ईत्ना भि मत् डराओ कि डर हि भाग जाए । ”

मलाई पनि त्यस्तै भईरहेको थियो । सायद आत्मसमर्पण गर्नु सिवाय केहि थिएन विकल्प पनि । कोठाको पर्खाल कतिबेला ढल्छ र मलाई किचेर मार्छ । बस् मेरो माईन्डको कन्सियस लेवल त्यता तर्फमात्र केन्द्रित थियो । जीवनमा मृत्यू एकदमै नजीकबाट अनुभव भयो ।

जब आफुलाई म अहिल्यै मर्दिन जस्तो लागेको हुन्छ अनि त्यतिबेला मृत्यु आफ्नो साम्ने बाजा बजाईरहेको हुन्छ, सायद त्यो क्षण मैले अनुभव गरिरहेको थिएँ ।

म सँग प्रकृतिमा आफूलाई समर्पण गर्नु सिवाय कुनै विकल्प थिएन ।
मेरो घमण्डका नसाहरु चुडीन थालिसकेका थिए । जम्मा एक मिनेट पनि आएन भुईचालो तर यस्ले वर्षै पुराना कुराहरु भत्काएर गयो । कतिका घर भत्कायो । कतिका मन भत्कायो । कतिका विचार भत्कायो । कतिका डर भत्कायो । कतिको जिवन भत्कायो । भुईचालोको कम्पन महशुस भएको क्षेत्रमा यो भुईचालो ले नभत्कीने मान्छे सायद कमै थिए होलान् ।
मलाई पनि सयौँ वर्षमा नसिक्ने पाठ सिकाएर गयो ।

एक निमेशमा जीवनको निरर्थकतालाई सावित गरिदियो । घमण्डलाई चकनाचुर बनाईदियो । म हुनुको घमण्ड स्खलित भएर गयो । सबै भन्दा निरर्थक जीन्दगी त्यति बेला लाग्यो जतिबेला मैले धरहरा ढलेको सुनेँ ।
साह्रै नराम्रो लाग्यो । बसन्तपुर ध्वस्त भएको थाहा पाएँ । अचम्म लाग्यो । म पनि धरहरा चढेको भए सायद त्यसदिन मेरो अन्तिम दिन हुने रैछ । बसन्तपुरको मन्दिरको फेदमा बसेर साथीहरु सँग गफीन गएको भए मेरो पनि जीवनको ईहलिला समाप्त हुने रैछ । धन्न कतै गईएको रैनरैछ जस्तो महशुस भयो ।
भुईचालोको भोलीपल्ट जब म त्यसको क्षती देख्दै गएँ अनि मलाई जीवन साच्चीकै पानिको फोका जस्तो लाग्यो । घरमै बस्दा पनि किचिएर मरेका लास देखेँ अनि । म संयोगले बाँचेको रैछु जस्तो लाग्यो ।
साँच्चै नै जीवन यौटा संयोग सिवाय केहि पनि हैन रैछ । पानिको फोका जस्तो कतिबेला फुट्ने हो पत्तै नहुने ।
कहाँ कतिखेर कुन बेला समाप्त हुने हो यो जीवनको कथा, कसैलाई पत्तै नहुने । कतिका कथाहरु यहि भुईचालो सँगै समाप्त भएर गए । कति लेखिन लागेका कथाहरु चोईटिए भने कति लेख्दै गरेका कथाहरु समाप्त भएर गए ।
म अबोध बालक झैँ हेर्दै गएँ । साँच्चे अबोध भएँ म त्यो बेला । सायद सबै अबोध भए होलान् । केहि गर्नै नसक्ने ।

मलाई लाग्यो, म कुनै सिनेमाको हिरो जस्तो भएको भए त्यो खस्दै गरेको धरहराको टुप्पो बोकेर टुडीँखेलमा राखिदीउँ या त गल्र्लम्म अंगालो हालेर धरहरलाई ढल्न नदिऊँ । खस्दै गरेको बसन्तपुरको मन्दिरको फेदमा आफ्नो हात राखेर ति अबोधहरुको ज्यान जोगाउँ । तर अहँ । म कुनै सिनेमाको हिरो थिइन । न त अद्भुत शक्ति भएको कुनै जीवन नै । मैले यति सोच्नुभन्दा धेरै अघि भुईचालो रोकिईओरी तहसनहस पारीसकेको थियो ।
मैले हेरेको सिनेमा को हिरो पनि मलाई निरर्थक लाग्यो । पुराना कथाहरुमा भएका कृष्णहरु पनि वेवकुफ लाग्यो । हनुमानले हातले पहाड उचालेको कुरा त पुरै पत्रु लागेर आयो ।
सबै भन्दा ठूलो त प्रकृति रहेछ । हामि मानिस त अहँ, फोस्रो खरानीको धुलो जस्तो । म भन्नु पनि निरर्थक लाग्यो ।
कति हासिँरहेका मान्छेहरु लास भईसकेका थिए । कति अस्पताल मा भर्ना भएका थिए भने कति आफन्त गुमाउँदै रुँदै थिए । एक निमेस । मात्र एक निमेस । एकै निमेस मा यो सबै भएको थियो ।
म कहिल्यै पनि बुझ्नै सक्दिन, जीवनको यो अत्भुत लिला । एकै निमेसमा खत्तम हुन सक्ने यौटा पानीको फोका जस्तो कफल्लो जीवनको अर्थ । अनि एकै निमेशमा ध्वस्त हुन सक्ने यी भौतिक संरचना र धनहरुको दौडमा दौडीरहेको मानव जगत्को रहस्य ।

Picture Source: http://si.wsj.net/public/resources/images/BN-IB941_0425ne_M_20150425044403.jpg

Categories: Uncategorized

Shares
Facebook Auto Publish Powered By : XYZScripts.com