थालीयो यौटा ब्लग, यौटा लेखन यात्रा

Umesh Ghimire | Blog

Umesh Ghimire Blog

यौटा दाईले अस्तिनै भेट हुँदा भन्दै हुनुहुन्थ्यो ‘भाई तिमी कतिको लेख्छौ’?

 मैले सम्झेँ साहित्य होला भनेर ‘यसो फेसबुकमा स्ट्याटस मात्र हो दाई त्यस्तो खासै केही पनि लेख्दीन’ ।

‘यसो मनमा आएका कुरा भए पनि लेख्दा हुन्छ नी यौटा ब्लगमा ।’ फेरी दाईले मेरो शब्द खस्न नपाउँदै भन्नुभयो ।
“त्यो त, हो दाई । यौटा वेवसाईट त रजिस्टर गरेको छु, त्यति फुर्सद नै मिल्दैन लेख्नलाई त्यै भएर केही पनि कन्टेन्ट हालेको छैन ।”
“धत् त्यस्तो भनेर हुन्छ, जे भए पनि लेख्ने गरन । लेख्ने शैली पनि विकाश हुन्छ । जानेका कुरा शेयर गर्न पनि पाईयो । नयाँ कुरा पनि सिक्दै गईन्छ ।”

दाईले भनेका कुरा पनि ठिकै हो । किन नलेख्ने ब्लग । किन मैलेचैँ जाने, बुझेका, सुनेका भए पनि २,४ अक्षर ब्लगमा नकोर्ने भन्ने लाग्यो ।
ब्लगीङ्ग सुरु गर्न अस्ति देखि मन लागीरहेको थियो, बल्ल मौका जुराएँ, मैले आफैँ । त्यसमा उत्प्रेरणाको स्रोत हुनुभयो शैलेश ज्ञवाली दाई ।
मनमा कुरा खेल्न थाल्यो जाबो ब्लग लेखेर के नै पो हुन्छ होला र ? कुनै नयाँ काम गर्न पाएपो मजा हुन्थ्यो त । फेरी सोचेँ निर्मल दाईको ब्लग, शैलेश दाईको ब्लग, अनी नरेन्द्र रौले दाईको ब्लग अनी अरु अरुहरुको ब्लग । कति राम्रा छन्, ति ब्लगहरु । कति नयाँ कुरा पनि सिक्न पाईन्छ ति ब्लगहरु पढेर । अनि भित्रैबाट लाग्यो, जे परे पर्ला म पनि लेख्न थाल्छु । जसले जे सुकै भनोस् । राम्रो भनोस् कि नराम्रो भनोस् म पनि लेख्न थाल्छु । जन्मदैँ जानेर आउने त को पो हुन्छ होला । विस्तारै विस्तारै सबै कुरा आफैँले सिक्दै जाने त हो नी । मैले थाल्दै थालीन भने गल्ति पनि हुँदैन तर सृजना पनि त हुँदैन नी ।
अनि यौटा टेम्प्लेट खोजेँ, ईन्स्टल पनि गरेँ । राम्रो छैन, तर पनि अक्षर पढ्न त मिल्छ । यसो फुर्सदमा २,४ अक्षर कोरेर पोस्ट गर्न पनि मिल्छ । बस् अहिलेलाई यति भए पुगीहाल्यो नी, फुर्सद भएका बेला डिजाईनिङ्ग राम्रो पारुँला, नयाँ नयाँ फन्सनहरु थपौँला । कति फेसबुकका भित्ताहरुमा मात्र अक्षरहरुलाई छर्नु । कसैलाई मन पर्दैन होला न्यूज फिडमा देखेर, कसैलाई वाक्क लाग्छहोला मेरा अक्षरहरु पढेर । बरु ब्लग लेख्छु, जसलाई मन पर्छ खोलेर पढ्छ, जसलाई मनपर्दैन पढ्दैन । अनि सोचेँ नेपाली बाट लेखोँ कि अंग्रेजीबाट । नेपालीबाट मात्र लेखौँ कि जस्तो लाग्यो, फेरी दिमागले भन्यो ‘ह्या, के नेपालीबाट लेख्नु । लेखेपछि अंग्रेजीबाट लेख्ने हो नी ।’ आफैँलाई द्विवीदा पलायो । मनका कुरा लेख्नलाई त नेपाली भाषा नै सरल हुन्छ । सलल बग्छ । आफ्नै मातृभाषापो हो त नेपाली, अंग्रेजीमा कहाँ यसरी नेपालीमा शब्द बगाए जस्तो बगाउन सकिन्छ ? अनि यसो आफुले जानेका कुराहरु पि.एच.पी, जाभास्कृप्ट, डाटाबेस जस्ता कुराहरुमा पनि केही लेख्न मनलाग्यो भने फेरी नेपाली बाट लेख्न अप्ठ्यारो पर्ला की जस्तो लाग्यो । निकै बेर घोरीएँ । आ, के फरक पर्छ र दुवै भाषमा लेखौँला । कुनै कुरा नेपालीमा कुनै कुरा अंग्रेजीमा । अनी भाषा जुराएँ नेपाङ्ग्रेजी ।
टेम्प्लेट पनि भयो । भाषा पनि भयो । दुवै कुरा सकियो । अब रह्यो कन्टेन्ट । के कन्टेन्ट हाल्ने होला ? एकै चोटी कसरी धेरै कन्टेन्ट लेख्नेहोला । समय पनि पाईदैन । दिउँसो दिनभर अफीसमा फुर्सद हुँदैन, बेलुका रुममा लखतरान भएर आईपुग्यो । अनि कुकमेन बन्यो आफैँ । खाना खायो । २,४ वटा नयाँ प्रविधी सम्बन्धि कुराहरु हे¥यो ईन्टरनेटमा, एक, दुई पेज पिएच पी कोड लेख्यो, २–४ वटा डाटाबेसका नयाँ टुल्स चलायो, अझै झ्वाँक चल्यो भने फोटोसपमा माउस कुदायो । अनि कति बेला लेख्नेहोला कन्टेन्ट । फेरी सम्झेँ, ओ हो म्यानेज्मेन्ट पढेको विद्यार्थी पो त । जाबो यति कुरालाई पनि म्यानेज गर्न सकिन भने त पढेको कुरा सबै पानीमा गैगयो नी । लाग्यो पढेको कुरालाई फील्डमा उतार्ने बेला यहि हो । उतार् उमेश उतार् । भित्रको अन्तरमनले बोल्यो ।
साथीहरु बेला बेलामा भन्ने गर्छन् यार म्यानेजमेन्टको स्कोप छैन । मैले स्कोप देखेँ । जीन्दगीलाई म्यानेज गर्नु पनि त यौटा म्यानेजमेन्ट नै हो नी । अनि झन् आफु बिगत ३,४ बर्ष देखी आईटी को पनि विद्यार्थीे मान्छे, यति ब्लग पनि लेखिएन भने त भएन । अफीसमा पनि आफुले जानेका २,४ वटा पि.एच.पीका कोडहरु, दुईचारवटा डाटाबेसका क्वेरीहरु, थोरबहुत जाभास्कृप्टका लाईनहरु अरुलाई सिकाउँदै छु । अब थप्छु यौटा ब्लग, लेख्छु जानेका कुराहरु । मैले जानेका २,४ कुराहरुले अरुलाइ पनि केही मद्दत हुन सक्छ । अनि अरुले जानेका कुराहरु पनि त मैले लिन पाउँछु नी फीडब्याकको रुपमा । अहो! यो पनि यौटा पाठशाला पो हुनेरैछ । भित्र भित्रै रमाईलो लाग्यो । केही कुरा सिक्न पाईने भयो । भनिन्छ प्रकृति यौटा पाठशाला हो । कसले भनेको हो कुन्नी यो भनाई साँच्चै नै बडो गजब लाग्यो । सहि भनेको रैछ भन्ने अनुभव भयो ।

अनि थालीयो यौटा ब्लग, यौटा लेखन यात्रा । आफुले जानेका कुरा, मनमा भएका कुरा, समग्रमा यौटा अक्षर घर ।

न म कुनै लेखक हो, न मलाई कन्टेन्ट लेख्न नै आउँछ । हुनसक्छ मैले लेखेका शब्दहरुमा व्यापक त्रुटिपनि, मैले लेखेका अक्षरहरुले मैले भन्न खोजेको भाव व्यक्त नगर्न पनि सक्छ । मलाई आशा छ, तपाईँ, जसले यी अक्षरहरु पढ्नुहुन्छ, ले गल्ती ठाउँ भेटाउने बित्तिकै मलाई सुझाव दिनुहुनेछ । मैले नजानेको ठाउँमा सिकाउनु हुनेछ र यौटा विद्यार्थी सम्झेर मलाई लेख्नको लागी प्रेरणा दिनुहुनेछ । ह्याप्पी ब्लगीङ्ग् । ः)

Categories: Uncategorized

Shares
Facebook Auto Publish Powered By : XYZScripts.com