यौटा अत्भुत सिकाई

आज लेख्नलाई निक्कै कष्ट गर्दैछु । केही छ कि यो दिमागमा भनेर । दिमाग ले शब्दहरुलाई बगाउनै खोज्दैन । मनमा कुनै विषय छनोट गरेर लेखौँ भन्ने पनि लागीरहेको छ । तर अहँ कुनै पनि विषय फुर्दैन ।

के म देशको बारेमा लेखौँ ?

अहँ , मेरो देशको बारेमा मलाई कति पो थाहा छ र लेखौँ ।

अनि, अनि के को बारेमा लेखौँ ?

के म यो धर्तिको बारेमा लेखौँ त ?

यो पनि बकवास कुरा भयो । जाबो यौटा देशको बारेमा थाहा छैन मलाई अनि धर्तिको बारेमा कसरि लेख्नु ।

त्यसो भए कुनै ज्ञानका कुराहरु लेख्नुपर्ला ।

आफैँसँग केही ज्ञान नभएको महशुस भईरहेको बेला कसरी ज्ञानका कुरा लेख्न सक्छु म ?

लौ न त यो धर्तिमा प्रेमका बारेमा धेरै नै लेखिएका छन् , प्रेमकै बारेमा लेखौँ कि ?

अनुभवलाई लेखेर सकिने भए, सायद संसार नै अर्कै हुन्थ्यो होला । यो असम्भव कुरा हो, कम्तिमा मेरा लागी । मेरो अनुभव,तपाईको अनुभव अनि उस्को अनुभव सब फरक फरक ।
अनि लेख्नुको के अर्थ भो र ?

मेरा लागी सहि होला तर अरु कसैका लागी गलत भयो भने त के प्रयोजन भयो र ?

त्यसो भए के म नलेखौँ ?

हैन लेख्नै पर्छ, आज त ।

वास्तवमा जब म लेख्न थाल्छु साँच्चै अज्ञानी हुन्छु । लाग्छ यति ठूलो समुन्द्र छ जान्नको लागी , मलाई केही थाहै छैन । अनि म थाहै नभएको विषयमा कसरी लेख्नु होला ?

कुनै पनि कुरा । मलाई वास्तवमा केही पनि थाहै छैन ।
यौटा पूर्ण अज्ञानी ।

आजकाल यस्तो लाग्न थालेको छ । वास्तवमै म केही पनि जान्दीन । जान्दीन भन्न पनि जान्दिन । अनि नजान्नु र जान्नु भनेको के हो त्यो पनि जान्दिन । मैले जाने भने पनि त्यो ज्ञान क्षणीक मात्रै हुन्छ । समस्टी मलाई केही पनि थाहा छैन ।

जति सिकेको हुन्छु त्यो पनि अपूर्ण । त्यसलाई पूर्ण गर्ने अर्काे च्याप्टर भेटिन्छ, त्यो पनि अलिकति । अचार जस्तो । अनि कसरि जानेको भन्नु जानेको जस्तो भान हुने कुरालाई पनि ।

त्यसो भए के म काम गर्न पनि जान्दिन त ?

हो म जान्दिन । मैले गरिरहेको काम गर्न पनि जान्दिन । जान्ने भए त यौटा वेवसाईट वा सफ्टवेर बनाएपछि अरु बनाउन केहि पनि सिक्नु नपर्ने हो नी । तर म हरेक काममा यौटा न यौटा नयाँ कुरा सिकिरहेको हुन्छु । अनि कसरी भन्नु म जान्दछु भनेर ।

साँच्चै म प्रेम गर्न पनि जान्दिन । हरेक दिन मलाई नयाँ अनुभव हुन्छ उहि मान्छे सँग, अनि कसरी जानेको भन्नु ।

वास्तव मै यहाँ केही पनि जानेर सक्नु छैन । सबै कुरा सिक्दै सिक्दै जाने मात्रै रहेछ । हिजो आमाले ताते ताते गराउन सिकाउनु भयो त्यो सिकियो । त्यसपछि बुबाले क, ख पढाउन सिकाउनु भयो त्यो सिकियो । फेरि विद्यालयमा नैतिक पाठ सिकियो । आज सम्म सिक्ने क्रम मात्रै भईरहेको छ ।

विस्तारै दाई हुन सिकियो । घरमा बुबा आमा का लागी छोरो हुन सिकिदै छ ।अनि समाजका लागी यौटा नागरिक हुन । देशका लागी यौटा असल नागरिक हुन सिक्दै गईदैछ । अनि यौटा कम्पनिका लागी कामदार । अथवा आफै उद्यम गर्न थालियो भने उद्यमशिलता । अनि प्रेमिका का लागि यौटा अनमोल प्रेमि हुन सिकिदै छ ।

थाहा छैन कति कुरा सहि सिकियो, कति गलत तर सिक्ने क्रम चलिरहेको छ । आमाको गर्व देखि आजसम्म सबै सिक्ने काम मात्र हुदैछ । अथवा भनौ ट्रायल एन्ड एरर ।

भोली विस्तारै यौटा पति हुन सिकिन्छ । अनि सिकिदै गईन्छ छोरा छोरीको बाबु हुन । अनि विस्तारै हजुरबा । त्यसपछि पनि जिवनका हरेक मोडमा हरेक प्रकारका सिकाईहरु निरन्तर छँदै छन् । तर थाहा छैन कुन सिकाई जीवनको कुन मोडमा आएर ईम्प्लीमेन्ट हुन्छ ।

जतिबेला जहाँ पनि हामीले सिकेका कुराहरु गलत पनि सावित हुन सक्छन् भने कामै नलाग्ने कुरा सिकिएछ भन्ने पनि हुन सक्छ ।
तर सिकाईमा रमाईलो छ । केही न केही नयाँ कुरा थाहा पाईन्छ चाहे गलत होस् या त सहि नै ।

जिवन पनि त यौटा सिकाई नै त रैछ नि ।
यस्तै यस्तै सिकाईहरुको श्रृङ्खला । सिक्नै छाडेर शान्त बस्ने हो भने त खै त्यहाँ जीवन ।
सिक्दै जानु नै जीवनको गतिशिलता रहेछ । जसरी खोला बगिरहन्छ । उसलाई बगेर सिक्नु छ अझै पनि । नयाँ नयाँ पानि सिक्दैछ, बग्नलाई । हावालाई अझै पनि उड्नु छ । पर क्षीतीज भन्दा पनि कहाँ हो कहाँ पुग्नलाई । अनि वादललाई पनि अझै माथि पुगेर पानि बन्नु छ ।
जन्म देखिको हरेक कार्यलाई जब सिक्दै सिक्दै जान्छाँै, त्यसपछि मृत्यूपनि यौटा सिकाई नै हुन्छ । सायद होला पनि । मृत्यूपपनि जिवनको यौटा सिकाई नै पनि हुन सक्छ ।

तर अचम्म यो छ यहाँ हरेक व्यक्तिको सिकाई बेग्लै । यौटै कुरा सिक्दा पनि ज्ञान फरक फरक पाईने, कति आश्चार्य छ । त्यो पनि नयाँ सिकाईनै हो ।

म पनि हरेक कुरा सिक्दैछु । अनौठो छ यो जीवनको सिकाई । अज्ञात भय र कौतुहलता छ । साच्चै नै जीवन यौटा अनौठो संयोग लाग्दैछ । सिकाईको यौटा अत्भुत रहस्य पनि ।

Categories: Uncategorized

Shares
Facebook Auto Publish Powered By : XYZScripts.com