यौटा पत्र तालीवानीलाई

सलाम वलीकम् तालिवान बन्धु,  

peshewar attack

हत्यामा मारिएका एक विद्यार्थीको जुत्ता

मलाई थाहा छ, तपाईहरुको र मेरो देश भिन्न छ, भेष भिन्न छ, संस्कार भिन्न छ, सम्बन्ध भिन्न छ, संस्कृति भिन्न छ अनि भुगोल भिन्न छ । म नेपालको यौटा कुनामा बस्ने मान्छे अनि तपाईहरु राजनितीको भिषण क्रान्तिमा होमिनुभएका परिवर्तनकारी पाकिस्तानी व्यक्तिहरु, फरक त छ धेरै तपाईहरु र म मा । गन्दै जाने भने हजारौँ फरक भेटिन्छन् । तर मैले यहाँ तपाईहरु र म मा भएको फरक छुट्याउन लाई भन्दा पनि म भित्र भएको क्रान्तिको परिभाषालाई ध्वस्त पारिदिनुभएकोमा नयाँ परिभाषा खोज्नु हो ।
जब तपाईहरुले पशेवार शहरको विद्यालयमा हमला गरेर बहादुरी देखाएर सिध्याउनु भयो, त्यसपछि विस्तारै समाचार बनेर मेरो पनि कान सम्म तपाईहरुको बहादुरीको खबर आईपुग्यो ।सुरुमा त लाग्या थ्यो कुनै भिडन्त हो, कुनै युद्ध गर्नुभयो । तर जब विस्तारै विस्तारै समाचार पुरै सुन्दै गएँ, म खंग्रङ्ग भएँ । मेरा आखाँ टिलपिल भए । रुनु कि हाँस्नु दोधार भयो । हुन त ति बालबालिका, जसलाई तपाईहरुले गोली बर्साई बर्र्साइ मार्नुभयो, ति मेरा कुनै रिस्तेदार पनि हैनन् न त कुनै जान पहचानका हुन् तर पनि आँखा रसाएर आए । मन पोल्यो । मेरो हृदयमा भुईचालो आयो ।
म कल्पना गर्न थालेँछु, आफू पनि तालिवानी भएको । त्यसैगरी विद्यालयमा बन्दुक भिरेर ती अबोध बच्चाको हत्या गर्ने बहादुर भएको ।

विस्तारै कल्पनामै मैले विद्यालयको गेट खोलेँ, स साना १, २ कक्षामा पढ्दै गरेका बच्चालाई छेउमा बोलाएँ । अनि क, ख पढ् भनेँ । विस्तारै तोते बोलीमा ति बच्चाले तपुली क, खलायो ख, घलजस्तो घ भन्दै गए । गोली हान्छु भनेर बन्दुक उझ्याउनै लाग्दा तंकल तंकल तो तलो कति लाम्लो है हेर्नुत भन्दै यौटा बच्चाले मेरो उझ्याउनै लागेको बन्दुकको नालमा हात राख्दै उसले बोकेको किताब मलाई देखाउन थाल्यो,  मन अमिलो भयो तर पनि दह्रो पार्दै गएँ किन कि मैले त्यो विद्यालयका सबै विद्यार्थीलाई मार्नु जो थियो, त्यो पनि विना कसुर ।मन कडा पारेँ, आखाँमा बग्न लागेको आँशु रोकेँ । एक पटक मेरो क्रान्तिलाई सम्झेँ । म फेरी गलेँ । मेरो क्रान्तिमा पनि कहिँ कतै अबोध बालकको हत्या गर्ने सिद्धान्त थिएन । कुनै कार्ल माक्र्स ले पनि लेख्या थिएन, न त कुनै नेपोलियन ले नै लेख्यो । अब मैले अझै दह्रो हुनु पर्ने भयो, किनकी अबोधहरुलाई मार्ने कुरा मेरो क्रान्तिमा पनि लेखेको थिएन कहिँ कतै पनि ।
अचानक मेरो मोबाईलमा ममिको फोन बज्यो, झसंग भएँ । त्यतिन्जेले बन्दुक तेर्सिएकै छ । बच्चाहरु पढीरहेका छन् । त पुली त, खलायो ख, घलजस्तो घ आदि आदि ।
बन्दुकको नालको अगाढी कालो आँखा भएकी सानी केटी उभीएकी थिई । अंकल अंकल मेलो यो पेन्सील त ममीले पो किनीदिनुभएको हो त । उसको कुरा सुनेर अचानक मेरो श्वास रोकिएला जस्तो भयो । अब बन्दुक हान्छु भनेर उझाएँ, बन्दुकबाट गोली निस्कनुपर्ने मेरो आँखाबाट आँशुको समुन्द्र बग्यो ।
विद्यार्थीलाई मार्न गएको बहादुर म, हारेँ । सकिन मार्नलाई । अहँ पटक्कै सकिन । म कायर भएँ । विद्यार्थीलाई मार्न गएको म आफैँ डरछेरुवा भएँ । मार्नै सकिन । हुन त मैले कैयौँ मान्छेलाई बन्दुकले हानेर सोतर बनाएको थिएँ तर अँहँ बच्चालाई मार्न सकिन । कष्ट हुँदोरैछ । म हारेँ । हार स्विकार गर्नु भन्दा आफैँलाई गोली हान्छु भने आफ्नै कञ्चटमा बन्दुक तेस्र्याएँ ।

ड्वाम्म !

झसंग भएँ । तपाईहरुको बहादुरीको देखेर म पनि कल्पनामा तालिवान हुन पुगेँछु । तर मैले मार्न सकिन, त्यो पनि जाबो कल्पनामा । तपाईँहरुले त वास्तवमै सैँयौ अबोधहरुको ज्यान लिनुभयो ।

आहा! तपाईहरुलाई बहादुर नभनेर म कसलाई बहादुर भनौँ । मान्छेहरुले तपाईहरुको त्यो हत्यालाई कायरतापूर्ण भने । तर तालिवन बन्धु, मलाई तपाईहरुको त्यो हत्या बहादुरिपूर्ण लाग्यो । साँच्चै नै बहादुरी पूर्ण । तपाईहरु यति बहादुर हुनु भयो कि ती अबोध बाल बालिकाको अनुहार मा हेरेर पनि बन्दुकको ट्रिगर दबाउनलाई हात काँपेनन् । हो, यदि तपाईहरु मानसिक रोगी हुुनुहुन्न थ्यो भने त्यति दह्रो हिम्मत जुटाउन त स्वयं अल्लाह, राम, जीसस, या त कुनै हिटलर धर्तिमा झरे पनि सक्दैनन् जस्तो लाग्छ

कति मज्जाले बदला लिनुभयो है ? अर्को कुरा, सायद जो जो ती अबोधहरुको हत्या गरेर बाँच्नुभयो, बेलुका गएर खुसीले पागल झैँ गरेर दारु पार्टि पनि गर्नुभयो होला नी ? त्यति ठूलो सफलता हात पर्दा त्यति त कमसेकम गर्नै पथ्र्याै हैन र ?
मलाई जम्मा तपाईहरुलाई सोध्न मन लागेको कुरा, तपाई तालिवानहरुको परिभाषामा प्रेम के हो ? के ती बच्चा भन्दा तपाईको बदला महत्वपूर्ण थियो ? यौटालाई गोली हानेपछि अरु बच्चा त रुन थाले होलान् , के तिनीहरुको रुवाईले तपाईको हृदयमा कुनै धुन पैदा गरेन ?
वास्तवमै तपाईहरुको बहादुरीलाई यो मेरा शब्दहरुले प्रशंसा गरेर साध्ये छैन । मलाई सहि र गलत भन्दा पनि तपाईहरु जति बहादुर सायदै संसार मा छैनन् जस्तो लाग्छ झन् ति माथी म त यौटा कुखुरो काट्न पनि डराउने डरछेरुवा ।

तर तपाईहरुले यस्तो बहादुरी गर्नुभयो त्यो बहादुरीको कुनै पनि अर्थ छैन । बहादुरी हो तर पनि अर्थ छैन । कुनै अबोध बालकहरुलाई मार्नु के अर्थपूर्ण होला ? मलाई थाह छैन तपाईहरुले के कारण ले मार्नुभयो । किन मार्नु भयो ? तर कारण जे भए पनि सयौँ फुल्न लागेका फुलहरुलाई बिचमै चिमोटर फ्याँकि दिनुभयो । सयौँ कोपीलाहरुलाई माडेर फ्याँक्नुभयो जसले फुल्न पाउने अधिकार बोकेको थियो । जसले बगैँचामा सुगन्ध छर्ने सम्भावना बोकेको थियो । अनि जो आफ्नो जीवन जीउन स्वतन्त्र थियो । अब अर्को कुरा, ति बचेका विद्यार्थीले पनि तपाईहरुले जस्तै बदलाको भावमा तरवार उठाउनु या त पुनः नयाँ जीवन जीउनलाई हृदयबाट प्रेम सृजना गर्नु ?
तपाईहरुले घटाएको बरबरतापूर्ण घटनाले मेरा हृदयमा यी  प्रश्नका बाडीहरु बगीरहेका छन् , कहिल्यै नसुक्ने कोशी बनेर ।
खुदा हाफीस ।
उमेश घिमिरे

Categories: Uncategorized

Shares
Facebook Auto Publish Powered By : XYZScripts.com