सम्भावना कहाँ हुन्छ जहाँ केही कुरा पनि हुँदैन

possibility

possibility

अमेरीका । सुन्दै कति प्यारो लाग्छ, हामीलाई यो नाम । यौटा प्रेम गर्नेले प्रेमीका भने जस्तो । नेपालका यूवालाई मात्रै हैन, सायद संसारका सबै यूवाहरुलाई त्यस्तै लाग्दो हो । थाहा छैन, के छ त्यहाँ? थाहा छैन किन मानिसहरु त्यतिका विधि मरिहत्ते गर्दछन् त्यो मूलुकको लागी । कोही डि.भी. को नाममा त भने कोही अरु अरु बाहनामा अमेरीका छिर्न चाहन्छन् र उतै हराउन चाहन्छन् जसरी पानिमा चिनी विस्तारै विस्तारै विलीँदै हराउँदछ । लाग्छ त्यहाँ छिरेपछि सम्पूर्ण दुःख हरुबाट पार पाईन्छ, खुसीको समुन्द्र छ त्यहाँ, अनि धनको वर्षा हुन्छ । मैले यहाँ अमेरीका जानु गलत भन्न खोजेको पटक्कै हैन र गएकाहरुलाई पनि तपाईँहरु अमेरीका छिरेर गलत गर्नुभयो भन्ने तात्पर्य पनि हैन । तर यहाँबाट केही हुँदैन भनेर अमेरीका अथवा कुनै अरु देश छिर्ने मानसिकता बनाउनु मलाई व्यक्तिगत रुपमा पटक्कै राम्रो लाग्दैन । यो देशमा केही हुन्न, केही पनि गर्न सकिँदैन, अवसर नै छैन भनेर सम्भावनाको खोजी नै नगरी हिँड्नु बहादुरी हैन । मैले यति भन्दा भन्दै गर्दा यो पनि हेक्का राखेको छु की मैले पनि यो देशमा कुनै बहादुरी गरिराखेको छैन । न त कुनै एदमै ठूलो उद्यम नै गरेको छु तर प्रयाश गरिरहेको छु । हारेको भने पटक्कै छैन ।

मेरो व्यक्तिगत जीवनको अनुभवले के ज्ञान दिएको छ भने हामिमा सबैभन्दा ठूलो संकट भनेको सोचको छ, जुन सोचले गर्दा परिवर्तन आउन सक्छ ।
सबै भन्दा ठूलो सोच भनेको हामी हारेको कल्पना गर्दछौँ, प्रयाश नै नगरी । मेरै सर्कलका पनि धेरै साथीहरु हुनुहुन्छ जो सँग प्रचुर सम्भावना छ तर पनि प्रयाश नै नगरी यहाँ केही पनि भएन यार, कि त अष्ट्रेलीया, कि अमेरीका हैन भने दुबई कतार तिर जान्छु यार भनिहाल्नुहुन्छ ।
वहाँहरुलाई सम्झाउनलाई म सँग कुनै शब्द पनि हुँदैन किनभने म आफैँ पनि सम्भावनाको खोजी गरिरहेको छु । म खोजी गरिरहेको छु कि यहाँ पनि केही गर्न सकिन्छ भनेर, खोजी गरिरहेको छु कि के साँच्चै सम्भावना नभएकै हो त भनेर, खोजी गरिरहेको छु कि यहाँ गर्न सकिने केहि छ कि भनेर । सायद वहाँहरुलाई सम्भावना खोज्न झ्याउ लाग्छ होला तर मलाई मज्जा ।
अर्को कुरा, यहाँ सब कुरा राजनीतिले बिगारिसक्यो । केही पनि हुँदैन । नेताहरुले देश डुबाए । वहाँहरु यसै भन्नुहुन्छ अनि त्यो डुबेको देश बाट उत्रिन चाहनुहुन्छ ।
फेरी पनि त्यहि कुरा आउँछ । राजनीतिले बिगारेको छ की छैन त्यो अर्कै बहसको पाटो हुन सक्छ तर सम्भावना नै नभएको भए हाम्रो देशमा तपाई र मेरो जन्मै हुदँैन थ्यो । यहाँ सम्भावना छ र यहि देशमा हाम्रो जन्म भएको छ ।
कतिपय साथीहरुलाई यो लेख पढ्दै गर्दा यस्तो पनि लाग्न सक्छ कि यार यो तिम्रो तातो रगत हो । यूवा जोस हो । पहाड फोड्ने बेला हो । यस्तो बेलामा यस्तो जोस आउनुु ठीकै हो तर जब ठक्कर खान्छौँ नी त्यति बेला चेत्नेछौ र थाहा पाउनेछौ कि यो देशमा सम्भावना खोजेर मैले गलत गरेछु भन्ने कुरा ।
अहिले यहिँ बसेर सम्भावना खोज्दै गर, पछि आफ्नो करियर चैँ बाबा जीका ठूल्लु हुन्छ, अनि थाहा पाउँछौँ, बेलैमा होस पुर्याउ है भन्ने पनि कतिपय साथीहरुको मनमा खेलीरहेको होला यी शब्दहरु पढिरहँदा ।
हो, यो कुरा सहि हो की मेरो सोच, मेरो विचार, मेरो मनोदशा सबै यूवा जोस बाट प्रेरीत छ । र यो कुरा पनि सहि नै हो की यहाँ राजनैतिक अस्थीरता छ, अनि यहाँ पैशा पनि धेरै कमाउन नसिकएला, अनि यो कुरा पनि सहि नै हो कि हाम्रो देशमा कुने सिष्टम छैन ।
यी सबै निरासाजनक कुराहरु पनि सबै सहि नै हुन् ।
हो यी सबै कुराहरु नेपालमा छैनन् र त सम्भावना छन् नी ।

सम्भावना कहाँ हुन्छ जहाँ केही कुरा पनि हुँदैन ।
यौटा सामान्य उदाहरण ः

जस्तो यहाँ सबै ठाउँमा गाडी पुगेको छैन : त्यहाँ के को सम्भावना छ बाटोको । गाडी व्यापारको । ड्राइभर पेशाको ।
यहाँ केहि पनि सिष्टम छैनः सिष्टम छैन र त त्यो सिष्टमेटिक बनाउने प्रविधिको सम्भावना छ, नयाँ नयाँ टेक्नोलोजीको सम्भावना छ, जसले सिष्टम चलाउन सकोस् ।
गाउँ गाउँमा विद्यालय छैन ः हो त्यहि छैन र त अब खुल्दा जागीरको सम्भावना हुन्छ ।
यहाँ पानि त राम्ररी खान पाईन्न : हो पाईन्न र त पानि व्यवसायको सम्भावना छ ।
यहाँ प्रवीधि त कसैले प्रयोग गर्दैन : हो कसैले गर्दैन र त त्यो प्रयोग गराउने सम्भावना छ ।
केहि पनि नहुनु भनेको सम्भावना नहुनु पटक्कै हैन । जब केहि पनि हुँदैन त्यतिबेला सम्भावनाका सम्पूर्ण ढोकाहरु खुला हुन्छन् । जब सबैथोक हुँदै जान्छ अनिमात्र सम्भावनाका ढोकाहरु बन्द हुँदै जान्छन् ।
यहाँ सम्भावना नभएका होईनन् , पटक्कै होइनन् । हाम्रा नजरहरु सम्भावना तिर फर्केर हेर्न नसक्ने भएका मात्र हुन् ।
अब कुरा गरौँ । ल ठिक छ । सम्भावना त रैछ । खोई त यसमा काम गर्ने मान्छेहरु ।
रविन्द्र मिश्र, जसले हेल्प नेपाल नेटवर्क जस्तो परोपकारी संस्था स्थापना गरेर देशभरी परोपकारको सम्भावनालाई विजारोपण गर्नुभएको छ ।
विश्वास ढकाल, प्रवीधिमा देशकै यौटा ठूलो कम्पनी एफ वान सफ्टलाई लिड गरिरहनु भएको छ । वहाँले प्रविधिमा सम्भावना खोज्दै हुनुहन्छ । क्यास अन एड पनि त सम्भावना कै खोजीको प्रयोग हो ।
सरोज कार्की , यूथ फर ब्लड नामक संस्था चलाएर हजारौँ मानिसहरुको जीवन बचाउने सक्ने सम्भावना खोज्नुभएको छ ।
शौनक भट्ट, हजारौँ यूवाहरुलाई देशमै केही गर्न सकिन्छ भनेर । मोटीभेसनल सेमीनार गरिरहनु भएको छ ।
महाविर पनु , सायद वहाँको बारेमा भन्नु नपर्ला । यहि देशबाट हो, सम्भावना को खोजीमा म्यागसेसे पुरस्कार वहाँको पोल्टामा परेको ।
निश्चलमान बज्राचार्य, ब्रेन डिजीट कम्पनी मार्फत सफ्टवेरमा सम्भावना खोजीरहनुभएको छ ।
अनिल शाह, वहाँ पनि त यौटा वैङ्कीङ्ग क्षेत्रको देशले गौरव गर्ने व्यक्ति हो । यहि देशमा काम गरिरहनु भएको छ ।
विवेकशील नेपाली , देशका यूवाहरुलाई एकजुट बनाई अनेकौँ उद्यमशील कार्यलाई प्रोत्साहन दिँदै राजनैतिक परिवर्तनमा होमीएको छ ।
लीलामणी पोखरेल , मुख्य सचिव भएर वहाँ कर्मचारीतन्त्रमा नयाँ सम्भावना खोजीरहनु भएको छ ।
सन्तोश प्रधान , ५० जना भन्दा बढि व्यक्तिलाई रोजगारी दिनु, त्यो पनि २५,२६ वर्षको यौटा जवान यूवाले, वहाँ पनि यही देशमा हुर्केर बढेकै व्यक्ति हो ।

(नेपालमै सम्भावनाको खोजी गरिरहका अन्य व्यक्तिहरुको नाम तपाईहरुलाई थाहा भएसम्म तलको कमेन्ट बक्समा लेखिदीनुहोला । )

मैले माथि लेखेका सम्भावना भएका व्यक्तिहरु भनेको मेरो दिमागमा सरर एकछिन सोच्दा आएका व्यक्तिहरु मात्र हुन् । त्यस्ता हजारौँ व्यक्तिहरु छन्, जो यहि देशमा सम्भावना खोजीरहेका छन् । उनीहरुलाई थाहा छ कि यहाँ राजनैतिक सिष्टम छैन । यहाँ कुनै पनि कुरा को सामन्जस्यता छैन तर पनि गरिरहेका छन् । यसको मतलव यहाँ सम्भावना छ । प्रचुरमात्रामा छ ।

अरु, यूवाहरुले यहि देशमा गर्न सक्छन् भने हामी किन नसक्ने ? आउनुहोस् । हातेमालो गरौँ । सम्भावना खोजौँ । यहि देशमा । जुनदेशले हामीलाई क, ख बोल्न सिकायो । जुन माटोमा हामी खालि खुट्टा ताते ताते गर्न सिक्यौँ । जुन हिमालको सितल हावाले हाम्रो भर्खर पलाउँदै गरेको कपाल हल्लिएको थियो ।

परिवर्तन सम्भव छ, त्यो पनि हाम्रै जीवनकाल मा ।

Picture source : http://assets1.womenoffaith.com/

Categories: Uncategorized

Shares
Facebook Auto Publish Powered By : XYZScripts.com